display

Tuesday, January 13, 2015

कांग्रेस र एमालेले भने-अब बहुमतीय प्रक्रिया शुरु भयो

२९ पुस, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले अब संविधान निर्माणको प्रक्रिया शुरु भएकाले सहमति र बहुमतीय दुबै प्रक्रिया सँगै अघि बढ्ने प्रष्ट पारेका छन् । संविधानसभाको मंगलवारको बैठकबाट बाहिरिने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सभासदलाई संविधानसभामा बस्न मन लागेन भन्दैमा उनीहरुलाई पर्खिएर संविधान निर्माण प्रक्रिया नरोकिने प्रतिक्रिया दिए । ‘केही मान्छेलाई संविधानसभामा बस्न मन नलाग्ला, केहीलाई संविधानसभा नै मन नपर्ला’ ओलीले भने’यत्रो खर्च गरेर जनताले दोस्रोपटक निर्वाचित गरेको संविधानसभाले आफ्नो काम रोक्न सक्दैन, अब प्रक्रिया शुरु भइसक्यो’ । ओलीले सहमति हुँदा माघ ८ मै संविधान जारी गर्न सजिलो भए पनि सहमति नहुँदा केही जटिलता थपिएको बताए । तर, माघ प्रक्रिया शुरु भइसकेकाले केही दिन ढीला लगाएर भने पनि संविधानचाहिँ जारी हुने उनको दाबी थियो । कांग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि अब संविधान निर्माणको प्रक्रिया शुरु भएको बताए । ‘सहमतिको प्रयास पनि जारी रहन्छ । तर, अब प्रक्रियाचाहिँ सुरु भयो’ पौडेलले भने ‘उहाँहरु सहमतिमा आउनुभएन भने मतदानबाट टुंगो लाग्छ’ । पौडेलले अब माघ १ गते बस्ने बैठकबाट संविधानको मस्यौदा तयार पार्न मस्यौदा समितिलाई सवाद समितिको प्रतिवेदन पठाइने बताए । ‘बाबुरामजी आउनुभयो भने उहाँले नै मस्यौदा समितिलाई दिनुहुन्छ, नत्र संविधानसभा अध्यक्षले तोकेको सदस्यले बुझाउनेछन्’ पौडेलले भने । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बहुमतलाई अल्पमतले बन्धक बनाउन नसक्ने भन्दै सहमति नभए दुई तिहाइ बहुमतबाट संविधान जारी हुने बताए ।